नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कृष्णसार संरक्षण क्षेत्र कार्यालय

खैरापुर, बर्दिया

परिचय

कृष्णसार भारतीय उपमहाद्वीपमा पाइने मध्यम आकारको Antelope प्रजाति हो । बीसौं शताब्दीमा, यसको बासस्थान क्षेत्र तीब्र गतिमा विनाश र साँघुरिएको कारणले सन् २००३ देखि यसलाई संकटापन्न प्रजातिको रुपमा सूचीकृत गरेको छ । सुन्दर रुपरङ्ग भएकोले यसलार्ई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । अंग्रेजीमा Blackbuck भनिन्छ, हिन्दीमा भालेलाई काला र पोथीलाई गोरिया नाम साथै वैदिक पुस्तकहरुमा (संस्कृतमा) भालेलाई हर्ना र पोथीलाई हर्नी नामको उल्लेख भएको पाइन्छ र बराँथ पनि भनिन्छ । यसको प्राकृतिक बासस्थान भारतको पंजाबदेखि लिएर उत्तर प्रदेशसम्म फैलिएको छ । यो नेपालमा औलो उन्मुख हुनुभन्दा अघि अर्थात १९६० को दशक अघि तराईको धेरै भागमा पाइन्थ्यो । कृष्णसारको मुख्य बासस्थान बाँके जिल्लाको खजुरा एवं राप्ती नदीको किनार भोज भगवानपुर र बर्दिया जिल्लाको मैनापोखर एवं खैरी पण्डितपुर थियो । औलो उन्मूलन पश्चात तराईका ठूला–ठूला फाँटाहरुमा पहाडका मानिसहरुको बसाई सराई क्रमशः बढ्दै गयो । त्यतिवेलाको सरकारी नीतिले पनि यस प्रवृतिलाई बढावा दिएको कारण जंगल र फाँटाहरुमा आवाद गरी बसोबास हुन थाल्यो । यसले गर्दा कृष्णसारको बासस्थान असुरक्षित हुनको साथै मानव बसोबास वृद्धिको कारण भुस्याहा कुकुरहरुको संख्यामा वृद्धि एवं पाल्तु जनावरहरुको पनि संख्या बढ्न गयो । यसबाट कृष्णसारले आफ्नो आहारको लागि घरपालुवा जनावरसंग (वस्तुभाउ) प्रतिस्पर्धा गर्नुृपर्ने स्थितिको सृजना हुनुको साथै भुस्याहा कुकुरहरुको आक्रमणबाट सताइन थाले । यसबाट हुनसक्ने परिणामको समयमै आँकलन गरी, यसको संरक्षणलाई कानूनीरुप दिनको लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखियोे ।

कृष्णसार Bovidae परिवारभित्रको सबभन्दा सुन्दर जनावर हो । भाले र पोथीको शरीरको रंग भिन्न हुन्छ । भालेको जीउको दुवैतिर ढाडदेखि पेटसम्म कालो र पेट सेतो रंगको हुन्छ भने पोथीको जीउको दुवैतिर खैरो र पेटतिर सेतो हुन्छ । भाले कृष्णसारमा दुइवटा घुमेको सिङ्ग (लम्बाई २१ ईन्चसम्म) हुन्छन् । यदाकदा पोथी कृष्णसारको सिङ देखिएको छ । यस संरक्षण क्षेत्रमा रहेको कृष्णसार Antelope Cervicapra Rupicapra उप प्रजातिको हो । कृष्णसार खुल्ला घाँसे मैदानमा बस्ने गर्दछ । कृष्णसार तीब्र गतिमा दौडन्छ । यसको गति ८० कि.मी./घण्टा अभिलेख गरिएको छ । यसको आवाज सानो र तिखो हुँदा, ठूलो आवाज गरी कराउन नसक्ने भएकोले एकपटक समूहबाट छुट्टिसकेपछि फर्किन गाह्रो पर्छ । एकपटक खुला चौर छोडेर घना जंगलमा पसेपछि फेरी आफ्नो ठाउंमा सजिलैसंग नफर्किन सक्छ । यो अति डराउने र आत्तिने भएकोले सानो दुर्घटनाबाट पनि मर्ने गर्दछ । कृष्णसार चरुवा वन्यजन्तु हो । यसले मुख्य रुपमा घाँस खान्छ । यसको अतिरिक्त फूल, फल र कोषा (Pod) लाई पुरक आहाराको रुपमा खान्छ । कहिलेकाँही साना वोटविरुवाको (बयर, दूधे लहरा, किम्बु, खाक्सी, लुँडे) पातहरु पनि खान्छ । यसलाई दुबो, काँस, बन्सो, कुरो र अन्य कलिलो घाँस बढी मन पर्छ ।