नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

नेपाल सरकार

वन तथा वातावरण मन्त्रालय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कृष्णसार संरक्षण क्षेत्र कार्यालय

खैरापुर, बर्दिया

संरक्षण सम्बन्धी स्कूल शिक्षा कार्यक्रम भब्यताका साथ सम्पन्न


संरक्षण सम्बन्धी स्कूल शिक्षा कार्यक्रमका कार्यक्रम संयोजक श्री धर्म बहादुर बुढाको संयोजकत्वमा मिति २०७४ फाल्गुन ९ गते श्री शम्भुशरण माध्यमिक विद्यालयमा संरक्षण सम्बन्धी स्कूल शिक्षा कार्यक्रम अन्तरगत मा.वि./नि.मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा प्रा.वि. स्तरीय चित्रकला प्रतियोगिता सञ्चालन गरियो । उक्त प्रतियोगितामा सहभागी विद्यार्थी भाई–बहिनीहरुको सक्रियता अतुलनीय रहेको थियो ।

 

संरक्षण क्षेत्रभित्रका सरकारी विद्यालयहरुलाई लक्षित गरी राखिएको यस कार्यक्रममा जम्मा ७ ओटा विद्यालयहरुको सहभागिता भएको थियो । मा.वि. तर्फ श्री शम्भुशरण माध्यमिक विद्यालय र श्री ध्रुव माध्यमिक विद्यालय, नि.मा.वि. तर्फ श्री भानोदय निम्न माध्यमिक विद्यालय तथा प्रा.वि. तर्फ श्री सरस्वती प्राथमिक विद्यालय, श्री कृष्णसार प्राथमिक विद्यालय, श्री नेपाल राष्ट्रिय प्राथिमिक विद्यालय र श्री स्वामी परमानन्द प्राथमिक विद्यालयहरु कार्यक्रममा सहभागी भएका थिए । मा.वि./नि.मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा एउटा समूहमा ४ जना विद्यार्थी हुने गरी तीनओटा विद्यालयहरुबाट २/२ ओटा समूहमा जम्मा ६ ओटा समूह गरी २४ जना विद्यार्थीहरुको सहभागिता भएको थियो । प्रा.वि. स्तरीय चित्रकला प्रतियोगितामा सातओटा विद्यालयहरुबाट १/१ जना विद्यार्थी गरी जम्मा ७ जना विद्यार्थीहरुको सहभागिता भएको थियो ।

वन्यजन्तु संरक्षणलाई आधार मानी हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगिताका लागि जम्मा ६० ओटा प्रश्नहरु निर्माण गरिएको थियो । जसमध्ये ६ ओटा समूहमा प्रत्येक समूहलाई ८ ओटा प्रश्न पर्ने गरी ४८ ओटा प्रश्नहरु सोधिएका थिए र बाँकी १२ ओटा प्रश्नहरुलाई जगेडामा राखिएको थियो । सोधिएका प्रश्नहरुमध्ये ५०% वन्यजन्तु तथा वन्यजन्तु संरक्षणका निकायहरु सम्बन्धी प्रश्नहरु राखिएका थिए भने २५% विद्यार्थीको पाठ्यक्रममा आधारित तथा २५% सामान्य ज्ञानबाट प्रश्नहरु राखिएका थिए ।

प्रतिस्पर्धी समूहहरुको पहिलो बसाई व्यवस्थापन गोलाप्रथाबाट निर्धारित गरिएको थियो भने ५०% प्रश्नहरु सोधिसकेपछि पुनः गोलाप्रथाबाट दोस्रो पटक बसाई व्यवस्थापन मिलाइएको थियो । प्रतिस्पर्धी समूहहरुलाई जम्मा ४८ ओटा प्रश्नहरु सोधिएका थिए, जसमध्ये जम्मा ३९ ओटा प्रश्नहरुको ठीक उत्तर आउन सफल भएको थियो र प्रतिस्पर्धी समूहबाट ठीक उत्तर आउन नसकेका जम्मा ९ ओटा प्रश्नहरु बाहिर गएका थिए ।

प्रा.वि. स्तरीय चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा ७ ओटा विद्यालयहरुबाट १/१ जना विद्यार्थी गरी जम्मा ७ जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराइएको थियो । वन्यजन्तु संरक्षण सम्बन्धी भाव झल्कने गरी चित्र बनाउनुपर्ने भनी निर्दैशन दिइएको थियो । चित्र बनाउँदा असजिलो नहुने गरी बसाई व्यवस्थापन मिलाइएको थियो ।

हाजिरी जवाफ प्रतियोगिताको लागि सर्वसम्मतबाट ३ सदस्यीय एउटा निर्णायक मण्डल गठन गरिएको थियो । त्यसैगरी चित्रकला प्रतियोगिताका लागि पनि सर्वसम्मतबाट ३ सदस्यीय एउटा निर्णायक मण्डल गठन गरिएको थियो । उक्त निर्णायक मण्डलले अन्तिम नतिजा प्रकाशन गरेको थियो । हाजिरी जवाफ प्रतियोगिता तथा चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विजेता समूह तथा विद्यार्थीहरुलाई यस कृष्णसार संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत श्री पुरुषोत्तम शर्माबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने श्री शम्भुशरण मा.वि. का प्रधानाध्यापक श्री भीष्मराज ढकालबाट टिका आवरण भएको थियो ।

कार्यक्रमको अन्त्यमा यस संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत श्री पुरुषोत्तम शर्माबाट कृष्णसार संरक्षण क्षेत्रबारे प्रकाश पारिएको थियो । विद्यार्थी भविष्यका कर्णाधार हुन् र विद्यालय स्तरबाट पनि वन्यजन्तु संरक्षण सम्बन्धी जानकारी विद्यार्थीहरुलाई दिनुपर्छ जस्ता कुराहरु उहाँबाट राखिएको थियो । वन्यजन्तु संरक्षणमा विद्यार्थी तथा विद्यालयको भूमिका सम्बन्धमा आफ्ना विचारहरु उहाँले राख्नु भएको थियो । वन्यजन्तु संरक्षण भनेको जैविक विविधता कै संरक्षण हो जस्ता भनाईहरु उहाँले राख्नु भएको थियो । आगामी दिनहरुमा पनि यस्तै वन्यजन्तु तथा जैविक विविधता सम्बन्धी विद्यालय स्तरीय कार्यक्रमहरु आयोजना गर्ने कुराहरु समेत उहाँबाट राखिएको थियो ।